काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँै अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।
रजिष्ट्रार प्रा डा दाहालले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन-चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।