त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताउनुभयो । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् ।