Engineers Vlogs को प्रयास #justiceforPUstudents
एघार महिनादेखि उपकुलपति नियुक्त नहुँदा पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहिन बनेका छन् । उपकुलपति मार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डीन समेत मनोनित भएका छैनन । जसले गर्दा शैक्षिक क्यालेण्डर नै प्रभावित बनेको छ ।
पोखरा विश्वविद्यालयमा परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्ट्रिय केन्द्रका कार्यकारी निर्देशकको पदसमेत रिक्त छ । ३ वटा आंगिक महाविद्यालयका स्कुल निर्देशक समेत छैनन् । पदाधिकारी अभावमा विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालन कार्यमा असर परेको छ । अन्य विश्वविद्यालयले स्थगित परीक्षा लिने जानकारी गराइसक्दा पोखरा विश्वविद्यालयमा भने कुनै सुरसार छैन । विद्यार्थीले प्रमाणपत्र, ट्रान्सक्रिप्ट नपाउँदा रोजगारीको अवसर पनि गुम्ने देखिएको छ । उपकुलपतिको अभावसँगै कोरोना भाइरस रोक्न जारी भएको लकडाउनका कारण विश्वविद्यालयमा अध्ययन-अध्यापन एवम् परीक्षा सञ्चालनका कार्य हुन सकिरहेको छैन । यसले शैक्षिक क्यालेन्डर समेत प्रभावित बनेको छ । मुख्य नेतृत्वकै अभावले विश्वविद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक कार्य रोकिएका छन् । आंगिक र सम्बन्धन प्राप्त कलेजमा गरी पोखरा विश्व्ाविद्यालयमा ४० हजार विद्यार्थी अध्ययनरत छन् । छिटो पदाधिकारी नियुक्तिको माग गर्दै प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विद्यार्थीले ज्ञापनपत्र बुझाइसकेका छन् भने नेपाल विद्यार्थी संघका विद्यार्थी नेता पछिल्लो दुई सातादेखि रिले अनसनमा छन् । तर कुनै सुनुवाई भएको छैन । तत्काल पदाधिकारी नियुक्त गरेर शैक्षिक क्यालेण्डरलाई नियमित गर्न आवश्यक छ ।